काठमाण्डू, ११ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको विषयमा कटाक्ष गरेका छन ।
हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने राप्रपा नेता शाहीको तर्क छ ।
शाहीले भने, ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ । तर, यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन । हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए ।’
राजाका पालामा निर्माण भएका संरचना र त्यससँग जोडिएका ऐतिहासिक पहिचान योजनाबद्ध रूपमा मेटाउने प्रयास गरिएको उल्लेख गर्दै शाहीले त्यही प्रवृत्ति आज अर्कै रूपमा दोहोरिएको बताएका छन् ।
उनले भने, ‘हिजो हुँदाहुँदा राजमार्गहरूको नामसमेत फेरियो । राजाका पालामा बनेका संरचना र त्यससँग जोडिएको इतिहास योजनाबद्ध रूपमा मेटाउने प्रयास तिमीहरूले नै गर्यौ ।’