कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना

काठमाण्डु टुडे २०८३ साउन ११ गते १३:०२ मा प्रकाशित

काठमाण्डू, ११ साउन– स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली खटाइएको छ ।

कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ ।

अवस्था सामान्य बनाउने प्रयास भइरहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो ।

कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us