काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले वर्षा गराउने प्रणाली प्रभावशाली बनेको हो ।
सोमबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
पछिल्लो एक घण्टाको तथ्यांकअनुसार बागलुङको भिमगिठ्ठेमा १९.८ मिलिमिटर, पाल्पाको हात्तिलुङमा १२.६ मिलिमिटर र कास्कीको लुम्लेमा ७ मिलिमिटर वर्षा मापन गरिएको छ ।
पछिल्लो २४ घण्टामा भने गण्डकी प्रदेशमा सबैभन्दा बढी वर्षा भएको देखिएको छ ।
कास्कीको लुम्लेमा २१४.८ मिलिमिटर वर्षा रेकर्ड हुँदा गोरखाको घारेढुंगामा १०७.६ मिलिमिटर, कास्कीको मालेपाटनमा ९८.८ मिलिमिटर, बागलुङको भिमगिठ्ठेमा ९६.४ मिलिमिटर, नवलपुरको देउरालीमा ९५.८ मिलिमिटर, काभ्रेको मण्डनमा ९०.६ मिलिमिटर र लमजुङको भुजुङमा ८२.६ मिलिमिटर वर्षा भएको छ ।
यस अवधिमा देशका अन्य धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने अनुमान छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।