प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बिहान ७ बजेदेखि लागु हुनेगरी हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् ।
घटनापछि बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सोमबार साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ घिमिरेले सूचना जारी गरी जानकारी दिएका छन् ।
निषेधाज्ञा अवधिभर एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन ।
निषेधाज्ञा उल्लंघन भए ५०० रूपैयाँ जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने पनि प्रजिअ घिमिरेले बताएका छन् ।
कप्तानगञ्जमा गएराति दुई समूहबीच झडप भएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।
सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काका अनुसार भिड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको भए पनि आइतबार राति चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो ।
मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै अर्को पक्षले सो कार्यको विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति बनेको थियो ।
झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो ।
त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि प्रहरीले गोली चलाउनुपरेको दाबी गरेको छ ।
उक्त घटनामा घाइते भएका ८ जना सर्वसाधारणको विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ, जसमध्ये अधिकांशलाई गोली लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार कोशी अस्पतालमा उपचाररत रहेका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव छन ।
विराट नर्सिङ होममा उपचाररत रहेका २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र अर्का २५ वर्षीय सुनिलकुमार मेहतालाई पनि गोली लागेको छ ।
प्रहरी निरीक्षक राकेश राईसहित ८ जना प्रहरी घाइते भएका छन् ।
प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव जवानहरू रामबहादुर राई, विजय यादव, बुद्धदेव साह र निवेश यादव घाइते छन् ।
घटनापछि हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा आजै बिहान ७ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।