सुनसरी — साउने सोमबारको बोलबम यात्राको तयारीका क्रममा सुरु भएको सामान्य विवाद सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिंसात्मक झडपमा परिणत हुँदा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ ।
घटनामा ८ जना प्रदर्शनकारी र ८ जना प्रहरी घाइते भएका छन् भने बजार क्षेत्रमा तोडफोड र आगजनीसमेत भएको छ ।
प्रहरीका अनुसार आइतबार राति बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान लागेको एक समूह र रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै विरोध जनाउने अर्को समूहबीच भनाभन सुरु भएको थियो ।
विवाद बढ्दै गएपछि दुवै पक्षबीच झडप भएको र स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेर भीड नियन्त्रणको प्रयास गरेको थियो । त्यसबाट पनि अवस्था सामान्य हुन नसकेपछि गोली चलाइएको उनले बताए ।
प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा आइतबार राति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका ८ प्रदर्शनकारीमध्ये अधिकांशलाई गोली लागेको छ। २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
राईको टाउकोमा चोट लागेको छ। प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका छन् ।
झडपका क्रममा कप्तानगञ्ज बजार क्षेत्रका घर, मेडिकल, सवारीसाधन तथा अन्य भौतिक संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ ।