काठमाण्डू, १० साउन– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डा. गोविन्द केसीको सत्याग्रह दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदृढीकरणको पक्षमा रहेको तर्क गरेका छन ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका पौडेलले आज (आइतबार) फेसबुकमार्फत यस्तो बताएका हुन । ‘हाल डा. गोविन्द के.सी.ले अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गर्नुभएको सत्याग्रह अन्ततस् दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकै सुदृढीकरणका पक्षमा छ,’ महामन्त्री पौडेलले भनेका छन्, ‘तर, पुनस् विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्याउने खेल भइरहेको देखिन्छ ।’
उनले विश्वविद्यालय सञ्चालनका लागि सर्वप्रथम गेटा अस्पताललाई कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्नु अनिवार्य रहेको बताएका छन् । ‘प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई यसमा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा यो काम सम्पन्न गर्न सकिन्छ,’ पौडेलले भनेका छन् । हिजो आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रहँदा गेटा अस्पताल सञ्चालन गर्न तथा एमबीबीएस पठनपाठन सुरु गर्न बजेटमा नै स्रोत सुनिश्चितता गरेको उनले उल्लेख गरेका छन् ।
‘त्यतिबेला पनि स्थानीयवासीको आवरणमा केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भयो, तथापि अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न हाम्रो पूर्ण तयारी थियो,’ पौडेलले भनेका छन् । गेटा अस्पताललाई तत्काल ३०० बेडमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु नै सुल्टो र व्यावहारिक बाटो रहेको उनले औँल्याएका छन् ।