दाङ- दाङमा माटोको ढिस्कोले पुरिँदा १३ वर्षीय बालकको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन् ।
शनिबार राति राजपुर गाउँपालिका–२ स्थित बेलाको दुर्गा सामुदायिक वन क्षेत्रमा माटो निकाल्ने क्रममा स्थानीय १३ वर्षीय दीपेश चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनामा १८ वर्षीय सुमित यादव घाइते भएका छन् ।
उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब ९ बजे ट्याक्टरमार्फत लुकिछिपी माटो निकाल्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर दुवै जना पुरिएका थिए ।
अचेत अवस्थामा उद्धार गरिएका दीपेशलाई उपचारका लागि लमही अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
घटनापछि ट्याक्टर चालक राजपुर गाउँपालिका–२ का २८ वर्षीय रामप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार चालकले माथिबाट खसेको ढिस्कोले दुवै जनालाई पुरेको बयान दिएका छन् ।
यद्यपि ढिस्को प्राकृतिक रूपमा खसेको हो वा माटो लोड–अनलोड गर्ने क्रममा दुर्घटना भएको हो भन्ने विषयमा घटनास्थलको अनुसन्धानपछि मात्रै यकिन हुने भएकाले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।