नक्कली पेस्तोल देखाएर ‘प्रहरीको घुमुवा’ भन्दै रकम उठाउन खोज्ने व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०८३ साउन १० गते ९:५६ मा प्रकाशित

रुपन्देही- आफूलाई प्रहरीको घुमुवा परिचय दिँदै सर्वसाधारणसँग रकम असुल्न खोज्ने एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका–१३ निवासी ४९ वर्षीय राकेश प्रताप राणालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनी ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राणाले सिद्धार्थनगर–१३ शान्तिनगर क्षेत्रमा एक स्थानीयलाई आफू प्रहरीको गोप्य टोलीमा कार्यरत रहेको भन्दै धम्क्याएर १० हजार रुपैयाँ मागिरहेका थिए ।

त्यसबारे सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउपछि राणाले बस्दै आएको कोठामा गरिएको खानतलासीका क्रममा एउटा नक्कली पेस्तोल र करिब ५ सय ग्राम गाँजा बरामद भएको छ ।

प्रहरीले राणालाई हिरासतमा राखी ठगीको प्रयास, लागूऔषध र अन्य सम्भावित कसुरका कोणबाट थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us