लुम्बिनी सरकारबाट बाहिरिने कांग्रेसको तयारी, मन्त्रीहरूले आजै राजीनामा बुझाउने

काठमाण्डु टुडे २०८३ साउन १० गते १०:०४ मा प्रकाशित

बुटवल- लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन् ।

एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिन लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिले असार अन्तिम साता एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि लुम्बिनी प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले अहिलेसम्म राजीनामा दिएका थिएनन् ।

शनिबार एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने लिखित सहमति भएपछि भने कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिन लागेका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् ।

शहरी विकास तथा खानेपानी  मन्त्री रोज राणाले कांग्रेसका सबै मन्त्रीले आइतबार नै सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us