नीट प्रकरणमा मोदीको भिडिओ भाइरल, २४ घण्टामा ३० करोडले हरेसँगै नयाँ विश्व कीर्तिमान

काठमाण्डु टुडे २०८३ साउन ९ गते १४:४९ मा प्रकाशित

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणबारे सार्वजनिक गरेको भिडिओले इन्स्टाग्राममा नयाँ कीर्तिमान कायम गरेको छ ।

मोदीले सरकारले प्रश्नपत्र चुहावट घटनामा चालेका कदम र आगामी योजनाबारे जानकारी दिँदै सार्वजनिक गरेको भिडिओ २४ घण्टामै ३० करोडभन्दा बढी पटक हेरिएको हो ।

शनिबार दिउँसोसम्म उक्त भिडिओ ३४ करोडभन्दा बढी पटक हेरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इन्स्टाग्राममा छोटो भिडिओका रूपमा पोस्ट गरिएको उक्त सामग्री २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिएको भिडिओ बनेको दाबी गरिएको छ  ।

यसअघि यो कीर्तिमान चर्चित युट्युबर आईशोस्पिडको नाममा थियो ।

फिफा विश्वकपका क्रममा दक्षिण कोरियाली सांगीतिक समूह बीटीएससँगको भेटसम्बन्धी उनको भिडिओले करिब ३० करोड पटक हेरिएको थियो ।

मोदीको भिडिओ व्यापक रूपमा फैलिनुका साथै उनको इन्स्टाग्राम खातामा एकै रात करिब १० लाख नयाँ अनुयायी थपिएको जनाइएको छ ।

भिडिओले ठूलो प्रतिक्रिया पाएपछि मोदीले शनिबार अर्को भिडिओ सार्वजनिक गर्दै धन्यवाद दिएका छन् ।

भारतमा नीट परीक्षाको प्रश्नपत्र चुहावट घटनालाई लिएर विद्यार्थीहरूले सरकारमाथि दबाब बढाउँदै आएका छन् ।

विद्यार्थीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित विभिन्न माग राखेर नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरिरहेका छन् ।

विद्यार्थी आन्दोलन विस्तार हुँदै गएपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सरकारको धारणा सार्वजनिक गरेका हुन् ।

मोदीले प्रश्नपत्र चुहावटको घटना लाखौं विद्यार्थी र अभिभावकका लागि गम्भीर र पीडादायी विषय भएको बताएका छन् ।

उनले घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको र दोषीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।

उनले विद्यार्थीहरूको शैक्षिक वर्ष प्रभावित नहोस् भन्ने उद्देश्यले छोटो समयमै परीक्षा सञ्चालन गरिएको र लाखौं विद्यार्थीका लागि आवश्यक व्यवस्थापन गरिएको बताएका छन् ।

मोदीले सरकारले यस घटनालाई गम्भीर रूपमा लिएको भन्दै दोषीलाई कडा सजाय सुनिश्चित गर्न द्रुत न्याय प्रक्रियाको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार सम्बन्धित निकायले आवश्यक कानुनी व्यवस्थासहितको मस्यौदा तयार गरिसकेको छ ।

मन्त्रिपरिषद्को छलफलपछि त्यसलाई अन्तिम रूप दिइने र संसदबाट आवश्यक कानुन पारित गर्ने प्रयास गरिने उनले बताएका छन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us