काठमाडौं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई नयाँ आधारमा अघि बढाउन एकता र पुनर्गठन आवश्यक रहेको बताएका छन् ।
नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै दाहालले पछिल्लो समय कम्युनिष्ट आन्दोलनले चुनौती सामना गरिरहेको उल्लेख गर्दै त्यसलाई पुनः सक्रिय र प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले अहिलेको राजनीतिक परिस्थितिले कम्युनिष्ट शक्तिहरूलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको भन्दै आन्दोलनलाई एकताबद्ध गरेर देशको नेतृत्व गर्ने संकल्प गर्नुपर्ने धारणा राखे ।
प्रचण्डले राष्ट्रिय स्वाधीनताको विषय पनि गम्भीर बन्दै गएको दाबी गर्दै त्यसको समाधानका लागि राजनीतिक शक्तिहरू सचेत हुनुपर्ने बताए । मुलुकमा देखिएका चुनौती सामना गर्न कम्युनिष्ट आन्दोलनलाई थप संगठित र बलियो बनाउन आवश्यक रहेको जिकिर उनको छ ।
कार्यक्रममा उनले देशमा निरंकुश प्रवृत्ति देखिन थालेको आरोप लगाउँदै त्यसविरुद्ध लोकतान्त्रिक अधिकारको रक्षाका लागि पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।