काठमाण्डू, ९ साउन– मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको प्रहरीले जनाएको छ ।
गए राति ढुङ्गासहित आएको पहिरोमा परेर तीन वर्षीय रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ । बुवा–आमा जगनाथ र सृजनालाई पनि सामान्य चोट लागेको छ। उनीहरूले पुलु स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन् । पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। करिब २०० मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ ।
घटनास्थल आसपासका थप आठ घरसमेत जोखिममा रहेकाले ती घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाले जानकारी दिएका छन ।
उक्त स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदमबहादुर खत्री कमाण्डमा ७ जनासहित छायल प्रहरी चौकीबाट ६ जनाको टोली घट्नास्थलतर्फ हिँडेको छ भने पुलुमा रहेका प्रहरी र स्थानियहरुले अहिले उद्धार गरिरहेको प्रहरीले जानकारी गराएको छ ।