गुल्मी- अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका गुल्मीका एक युवकको उपचारका क्रममा ज्यान गएको छ ।
सत्यवती गाउँपालिका–५ हसराका २२ वर्षीय पूर्ण सिउ थामी मगरलाई केही दिनअघि अरिङ्गालले टोकेको थियो ।
गम्भीर अवस्थामा अस्पताल पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार साउन २ गते राति घर नजिकै रहेको कदमको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा घटना भएको थियो ।
त्यसक्रममा अरिङ्गालले मगरको दुवै खुट्टा र दाहिने हातमा टोकेको थियो ।
मिसन अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरेका थिए ।
उनको अवस्था थप जटिल भएपछि आईसीयूमा राखिएको थियो ।
तर, साउन ८ गते राति उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।