आफ्ना सांसदको सुरक्षा गर्न सरकारसँग रास्वपाको माग

काठमाण्डु टुडे २०८३ साउन ९ गते ११:२७ मा प्रकाशित

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद् गणेश पौडेलमाथि रौहतटमा कालो मसी छर्कने कार्यमा संलग्नलाई कारबाही माग गरेको छ ।

सो पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले शनिबार विज्ञप्ति जारी गर्दै पौडेलमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गरेका हुन् ।

उनले आफ्ना सांसदको सुरक्षाको माग पनि गरेका छन् ।

विज्ञप्तिमा बुर्लाकोटीले सांसद पौडेलमाथि भएको दुर्व्यवहारको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार तथा अपमानजनक व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने रास्वपाले जनाएको छ ।

गतिविधिले विधिको शासन, लोकतान्त्रिक मूल्य–मान्यता र शान्तिपूर्ण राजनीतिक अभ्यासलाई कमजोर बनाउने उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको रास्वपाको भनाइ छ ।

बुर्लाकोटीले दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधिको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us