२३० वर्षदेखि भोगचलन गर्दै आएको जग्गा रोक्का नगर्न खोटाङबासीको माग

काठमाण्डु टुडे २०७१ असोज २८ गते ८:२१ मा प्रकाशित

काठमाण्डु, २८ असोज – हलेसी महादेव पूजाआजा तथा व्यवस्थापन समितिले स्थानीय व्यक्ति विशेषका जग्गालाई रोक्का नगर्न माग गरेको छ ।

haleshiमंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले वि.स. १८४२ देखि लालमोहर प्राप्त जग्गा जमिनलाई स्थानीयले भोगचलन गर्दै आएकोमा हाल आएर गुठी संस्थानले तैनाथी जग्गामा विवाद देखिएकाले आवश्यक छानविन प्रक्रिया शुरु गर्ने भन्दै जग्गा रोक्का गरेको समितिको अध्यक्ष देविन्द्रकुमार गिरीले बताएका छन् ।

सोही कार्यक्रममा गुठी संस्थानका अध्यक्ष पञ्चलाल महर्जनले देशभरका विभिन्न पुरातात्विक महत्व बोकेका ऐतिहासिक मठ मन्दिरका संस्कृतिको संरक्षण एवम् प्रर्वद्धन गर्न पुजारी, महन्त, रकमी एवम् गुठियारलाई ती जग्गाहरु भोग चलन गर्न दिईएको भएपनि २०२१ को ऐन अनुसार उक्त जग्गामा मोहियानी कायम हुन नसक्ने जानकारी दिएका छन् ।

महर्जनले भने–‘‘ अनियमित तरिकाले व्यत्तिका नाममा रहेका जग्गाको छानविन गर्ने क्रममा सो स्थानको ३२ कित्ता तथा ४९ रोपनी जग्गा रोक्का गरिएको छ । छानविन पश्चात् संस्थान एउटा निर्णयमा पुग्छ । कानुन बमोजिम भएकाको रोक्का फुकुवा हुन्छ ।’’ उनले मठ मन्दिरका नाममा रहेको जग्गाजमिनको संरक्षण गर्ने दायित्व संस्थानको भएको बताउँदै व्यक्ति विशेषलाई दु:ख दिने उद्देश्यले नभएर दायित्व पुरा गर्ने अभिप्रायले आफूहरुले कारबाही अगाडी बढाएको पनि स्पष्ट पारेका छन् ।

त्यस्तै हलेसी महादेव मन्दिरका मुख्य पुजारी बम प्रसाद गिरीले तत्कालीन सरकारले आफूहरुलाई लालमोहर गरि जग्गा तथा मन्दिरको पूजा सञ्चालन अधिकार उपलब्ध गराएकाले त्यसको वैकल्पिक व्यवस्था नगरिकन जग्गा रोक्का नगर्न आग्रह गरेका छन् ।
समितिका अनुसार जग्गा रोक्काबाट करिब ३५० घरपरिवार विस्थापित हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us