काठमाण्डू, ६ साउन– न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायलका बेन्जामिन नेतान्याहूलाई पक्राउ गर्न नसक्ने बताएका छन । आज (बुधबार) एक भिडियो सन्देश जारी गर्दै उनले विश्वको शीर्ष युद्ध–अपराध अदालत अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्न आफू सक्षम नभएको बताएका छन ।
तर संघीय सरकारले त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ। भिडियोमा ममदानीले इजरायली प्रधानमन्त्रीलाई ‘युद्ध अपराधी’ भनेर उल्लेख गरेका छन । उनलाई न्युयोर्क सहरमा स्वागत नगरिने उनको स्पष्ट जवाफ छ ।
आईसीसीले नोभेम्बर २१, २०२४ मा इजरायली प्रधानमन्त्री नेतान्याहू र पूर्व रक्षामन्त्री योभ ग्यालान्ट, साथै हमासका सैन्य प्रमुख मोहम्मद देइफका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
‘यो स्पष्ट छ कि हामीसँग यो पुर्जी लागू गर्ने स्वतन्त्र कानुनी अधिकार छैन,’ मेयर ममदानीले एक्समा पोस्ट गरिएको भिडियोमा भनेका छन्, ‘यद्यपि संघीय सरकारले गर्न सक्छ, र म उनीहरूलाई आईसीसीमा सहभागी हुन र यो पुर्जी कार्यान्वयन गर्न आह्वान गर्दछु ।’
ममदानीले यस महिनाको सुरुमा न्युयोर्क टाइम्सलाई यदि सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभाको लागि नेतान्याहू न्युयोर्क सहर आउँदा सहरको कानुनी विभागले उनलाई पक्राउ गर्न सक्दैन भनेर आफूले छलफल गरिरहेको बताएका थिए ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा नेतान्याहूलाई अमेरिकामा पक्राउ नगरिने कुरा स्पष्ट पारेका थिए ।
उनले एक पोस्टमा बताए, ‘संयुक्त राज्य अमेरिकामा रहँदा उनलाई कुनै पनि तरिकाले पक्राउ गरिने छैन ।’ पोस्टमा ममदानीको प्रत्यक्ष रूपमा उल्लेख गरिएको थिएन ।