काठमाण्डू, ६ साउन– अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष ०८२–८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय र जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका क्रमशः एक एक जना गरी २५ व्यक्तिको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जानकारी गराएको छ । मुस्ताङमा १५, मनाङमा आठ, अन्नपूर्ण आधार शिविरमा एक र मर्दी हिमालमा एक जनाको मृत्यु भएको हो ।
मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया रहेको आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए । पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण सोही अवधिमा पाँच जना पर्यटकले ज्यान गुमाएका छन् । भारतीय पर्यटकको मनाङको पदयात्राका क्रममा भारी हिमपात हुँदा मृत्यु भएको थियो ।
एक जना अष्ट्रेलियन पर्यटकको मनाङको हिमलुङ हिमाल चढेर फर्कने क्रममा ज्यान गएको हो । मर्दी हिमालको पदयात्राका क्रममा एक जना नेपाली पदयात्री र जर्मनी नागरिकको म्याग्दीको खोप्रा लेकमा पदयात्राका क्रममा मुत्यु भएको थियो ।