काठमाण्डू, ३२ असार– कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेपछि कांग्रेस कोशी प्रदेश स्तरीय कार्यदलको बैठक सुरु भएको छ । केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएपछि सरकारको बारेमा निर्णय गर्न कांग्रेस कार्यदलको बैठक सुरु भएको हो ।
कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, सांसदहरू अमृत अर्याल, गयानन्द मण्डललगायत सहभागी रहेका छन । बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल भइरहेको छ ।
केन्द्रको निर्देशनपछि बसेको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बलाउन निर्देशन दिने बताइएको छ । कोशी प्रदेश सरकारमा कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् । कार्यदलको सदस्य भौतिक पूर्वाधार मन्त्री सुनुवार पनि हुन् । तर, उनी बैठकमा सहभागी भएका छैनन् ।