कर्णालीमा कांग्रेसका सबै मन्त्रीद्वारा सामूहिक राजीनामा, एमाले नेतृत्वको सरकार संकटमा

काठमाण्डु टुडे २०८३ असार ३१ गते ११:१० मा प्रकाशित

काठमाडौं-  कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीले बुधबार सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन् ।

उनीहरूले मन्त्रिपरिषद् बैठक बस्नुअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजया बुढा रहेका छन् ।

सामाजिक विकास मन्त्री भण्डारीले आफूहरू सबैले सामूहिक रूपमा पदबाट अलग भएको पुष्टि गर्दै अब सरकार सञ्चालनको जिम्मेवारी मुख्यमन्त्रीलाई नै छाडिएको बताए ।
‘मुख्यमन्त्रीज्यूलाई भेटेर हामीले जनताको काम प्रभावकारी ढंगले अघि बढाउनुस्, हामीले मार्गप्रशस्त गरेका छौं भनेका हौं,’ उनले भने ।

कांग्रेसले अब आफ्नै नेतृत्वमा सरकार गठन गर्न लागेको हो भन्ने जिज्ञासामा भण्डारीले त्यसबारे कुनै निर्णय नभइसकेको बताए ।
‘अहिलेलाई त्यहाँसम्म सोचिएको छैन । मुख्यमन्त्रीज्यूलाई जनताको काम राम्रोसँग गर्नुहोस् भन्ने मात्रै भनेका छौं,’ उनले भने ।
कर्णाली प्रदेश सरकार सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।

त्यसमा कांग्रेसका चार र नेकपा (एमाले)का तीन मन्त्री सहभागी थिए। कांग्रेसका सबै मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री कडेल नेतृत्वको सरकार तत्कालका लागि संकटमा परेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएपछि दुवै दल मिलेर सरकार गठन गरेका थिए ।

कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामापछि उक्त सत्ता सहकार्यमा नयाँ मोड आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us