काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले सञ्चार माध्यमका कार्यालय र नेताहरूको आवतजावत हुने स्थानमा निजी गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि अनुसन्धान र कारबाही गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने कार्य गलत भएको बताएका छन् ।
यस्तो गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइनुपर्ने उनको भनाइ छ ।
झाले राज्यको दायित्व नागरिकको सुरक्षा र चिन्ता निराकरण गर्नु भए पनि यस्ता गतिविधिले नागरिकलाई थप त्रसित बनाएको टिप्पणी गरेका छन् ।
‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्यले आफैं थप आतङ्कित बनाउने होइन,’ उनले लेखेका छन् ।
उनले यस्ता गतिविधिलाई ‘बचकाना’ र ‘स्तरहीन’ भन्दै लोकतान्त्रिक शासन व्यवस्थामा यस्तो अभ्यास स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ,’ उनले भनेका छन् ।