हेटौंडाबाट काठमाण्डु जोड्ने दुई सडक बन्द

काठमाण्डु टुडे २०८३ असार ३० गते १८:५० मा प्रकाशित

हेटौंडा — बाढीपहिरोको जोखिम बढेपछि हेटौंडाबाट काठमाण्डु जोड्ने दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–भैंसे–काठमाण्डु सडकखण्ड र हेटौंडाबाट काठमाण्डु जाने कान्ति राजमार्गमा मंगलबार साँझ ६ः३० बजेदेखि बुधबार बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढ्दै गएको र थप वर्षाको सम्भावना रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार बागझोर क्षेत्रमा जुनसुकै समयमा गेग्रानसहितको भेल आउन सक्ने जोखिम रहेको छ । यस्तै, भीमफेदीस्थित बेलिब्रिज मर्मत भइरहेको, वैकल्पिक डाइभर्सनसमेत बाढीले बगाएको तथा हेटौंडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाण्डु जाने सडकखण्डमा वर्षासँगै ढुंगा खस्ने र पहिरो जाने सम्भावना उच्च रहेको छ ।

सम्भावित सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षाका लागि अस्थायी रूपमा सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले सडकको अवस्था र मौसमको जोखिम मूल्यांकनपछि सवारी सञ्चालनबारे थप निर्णय गरिने जिल्ला प्रशासन कार्यालयद्वारा मंगलबार जारी सूचनामा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us