सञ्चार गृह अगाडि गाडी पार्किङ गरिएको घटनाः सरकारका प्रवक्ताले बोले सफेद झुठ

काठमाण्डु टुडे २०८३ असार ३० गते १८:२१ मा प्रकाशित

काठमाण्डू– सरकारले सोमबार विभिन्न सञ्चार गृहका गेट अगाडि गाडी पार्किङ गरेर तर्साउने खोज्नेहरुको खोजी जारी रहेको जिकिर गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले घटनामा सरकारको संलग्नता अस्वीकार गरे ।

उनले घटनामा संलग्नको खोजीमा सरकार लागेको बताए । ‘सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालय अन्तर्गतकै हो’, उनले भने, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला ।’

पोखरेलले उक्त कार्यमा संलग्ना जो कोही भए पनि कारबाही हुने उल्लेख गरे । ‘प्रहरीले यसमा को को संलग्न छ भन्ने खोजी गर्दैछ’, पोखरेलले भने, ‘ जुनसुकै पार्टीको भए पनि के सजाय हुनुपर्ने हो हुन्छ ।’

सोमबार कान्तिपुर मिडिया ग्रुपको तिनकुने, अनलाइनखबरको बुद्धनगर र हिमालय टिभीको मध्यबानेश्वरस्थित कार्यालयको गेटमा भित्रबाहिर गर्न असहज हुने गरी शंकास्पद गाडी पार्किङ गरिएका थिए ।

व्यापक विरोध र दबाबपछि प्रहरीले क्रेन लगाएर गाडीहरु उठाएको थियो ।

तर, ती सबै गाडी ५ सय रुपैयाँ जरिवाना लगाएर छाडिसकिएको छ ।

प्रहरीले गाडी धनीको पहिचान गरी सम्बन्धितलाई फिर्ता गरिसकेको भए पनि सरकारका प्रवक्ताले भने उनीहरुको खोजी गरिरहेको भनेर ढाँटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us