काठमाण्डू– सरकार नेतृत्वकर्ता रास्वपा सांसद् गणेश कार्कीले नेपालमा मात्र नभई संसारकै खुसी मानिस बस्ने भनिएको फिन्ल्याण्डमा पनि आत्महत्याका घटना हुने गरेको तर्क गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले फिनल्याण्डमा हरेक एक लाखमा १४ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । आत्महत्याको कारण गरिबी मात्र नभएको तर्क उनको थियो । ‘गरिबीका कारणले मात्र आत्महतया हुँदैन’, कार्कीले भने, ‘गरिबीका कारणले मात्रै आत्महत्या गर्ने भए संसारको खुसी, सम्पन्न भनेर मानिने फिनल्याण्डमा हरेक एक लाखमा १४ जनाले आत्महत्या गर्दैनथे ।’
नेपालमा पनि हरेक दिन १८ जनाको आत्महत्याका कारण ज्यान गइरहेको उनले बताए ।
आत्महत्याको विषयलाई राजनीतिकरण गर्न नहुने भन्दै कार्कीले त्यसको कारण खोजिनुपर्ने उल्लेख गरे ।
मुगुका युवा गणेश नेपालीसहित तीन जनाले हालै मात्र हात्मदाह गरेपछि सरकारमाथि विभिन्न कोणबाट प्रश्न उठ्ने गरेको छ ।
विगतमा इलामका कृषक प्रेमप्रसाद आचार्यले बानेश्वरको संसद भवन अगाडि आत्मदाह गरेको विषयमा तत्कालीन काठमाण्डु महानगरपालिकाका मेयर एवं हालका प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले त्यतिबेला सरकारको विरोधमा गरेका पोष्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
विपक्षी दलका सांसदहरुले आचार्य र नेपालीको मृत्यु एकै प्रकारको भए पनि शाह र लामिछानेको दुई घटनामा फरक विचार आएको भन्दै विरोध गरेका छन् ।