काठमाण्डू, ३० असार– पूर्व मन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सार्वजनिक चासोका विषयमा बोल्दासमेत घरमा गाडी तेर्स्याउन आउने हुन कि भन्ने डर उत्पन्न भएको भन्दै सरकारप्रति व्यङ्ग्य गरेका छन ।
आज (मंगलबार) बसेको लेखा समितिको बैठकमा पासपोर्ट ठेक्का विवादबारे बोल्दै नेकपाका नेता पुनले यस्तो बताएका हुन् । नेता पुनले भने, ‘जनताले उठाएको विषय बोल्नुपर्ने हुन्छ, त्यसक्रममा संविधानका मर्यादा र कार्यक्षेत्र पनि हेर्नुपर्ने हुन्छ, त्यसो नगरे लोकतान्त्रिक संस्था मजबुत हुँदैनन् ।’
उनले सोही विषयमा बोलेबापत घरमा गाडी तेर्सिन आउने हुन् कि भन्दै व्यङ्ग्य गरे । यसले लोकतन्त्र सीमित हुँदै आएको उनले बताए ।
उनले यो विषय आज कसलाई पर्यो भन्दा पनि यो प्रवृत्ति मौलाउने विषय सबैभन्दा डरलाग्दो विषय भएको पनि बताएका छन ।
लोकतन्त्रमा बोल्ने कुरा, स्वतन्त्रतापूर्वक अभिव्यक्ति दिने विषय सुनिश्चित गर्नुपर्ने उनले बताएका छन । पावरका कुरा सधैं एउटैसँग नहुने उनको भनाइ थियो ।