काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण गर्ने भन्दै मिडिया हाउसमा गाडी तेर्स्याएर गरिएको हर्कतको निन्दा गरेका छन् । उनले कसैको नाम भने लिएनन् ।
तर सरकारतर्फ नै सुई सोझ्याए । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सचेतक परियारले भने, ‘हामी सत्तामा छौँ भन्दैमा,कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् ।
लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेसको प्रतिरक्षा गर्न हामी अग्रसर नभए अरू को बोल्छ ?’ बन्दूकसँग नडराएको नेपाली प्रेस दुई चारवटा गाडी तेर्स्याउँदैमा नडराउने समेत उनले बताए । परियारले रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको पनि बताए ।
उनले भने, ‘हिजो राजधानीमा अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भर्त्सना गर्दछु ।
सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। तर बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै हो ।’