काठमाण्डू, २८ असार– डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ । आज (आइतबार) बिहान अत्तरिया अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
डडेल्धुराको जोगबुडा घर भएका जोशीलाई २७ गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल डोटी लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।