काठमाण्डू, २८ असार– फिफा विश्वकप २०२६ अन्तर्गत आज (आइतबार) बिहान भएको क्वार्टरफाइनलमा अर्जेन्टिना र स्वीट्जरल्यान्डबीच भएको रोमाञ्चक खेलका क्रममा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिन्हेइरोबीच भएको विवादित संवादले अहिले सामाजिक सञ्जालमा भइरल भएको छ ।
खेलको पहिलो हाफमा स्वीट्जरल्यान्डले फ्रिकिक पाउने क्रममा रेफ्री पिन्हेइरोले अर्जेन्टिनाका खेलाडीलाई आवश्यक दूरी कायम गर्न निर्देशन दिएका थिए । त्यसक्रममा रक्षापंक्तिमा रहेका मेस्सीलाई रेफ्रीले बोलेको शैली र हाउभाउ मन नपरेपछि उनले तत्काल असन्तुष्टि जनाएका थिए ।
टेलिभिजनमा देखिएका दृश्यअनुसार मेस्सीले रेफ्रीलाई ‘मसँग राम्रोसँग कुरा गर्नू, भन्दै सम्मानजनक व्यवहार गर्न आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । फ्रिकिकपछि पनि दुवैबीच अर्को संवाद भएको देखिएको थियो । लिप–रिडिङ (ओठको चाल) का आधारमा मेस्सीले रेफ्रीलाई भनेका थिए, ‘मसँग सम्मानपूर्वक कुरा गर्नुहोस् । अपमान नगर्नुहोस् । मैले तपाईंलाई सम्मानका साथ बोलेँ, तपाईं पनि मसँग त्यसैगरी कुरा गर्नुहोस् ।’
यद्यपि मेस्सीले आफ्नो असन्तुष्टि स्पष्ट रूपमा व्यक्त गरे पनि उनी संयमित देखिएका थिए । उनले हात पछाडि राखेर शान्त ढंगले रेफ्रीसँग संवाद गरेका थिए र घटनाले कुनै अनुशासनात्मक कारबाही निम्त्याएन । तर विश्वकपको सेमिफाइनल प्रवेश दाउमा रहेको तनावपूर्ण खेलका बीच भएको यो संवाद सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक चर्चाको विषय बनेको छ ।