एजेन्सी- इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल र ड्रोनबाट जोगिन दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन रोक्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको युएईले जनाएको छ । कतारले पनि सुरक्षा जोखिम बढेको भन्दै घरभित्रै सुरक्षित स्थानमा बस्न सबैलाई अनुरोध गरेको छ ।
यूएईको रक्षा मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन् । ती आवाज प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोनलाई बीचमै निष्क्रिय पार्ने क्रममा आएका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा न्युजले जनाएको छ । यता, कतारले पनि सुरक्षा सतर्कताको स्तर उच्च बनाएको जनाएको छ ।
कतारको गृह मन्त्रालयले मोबाइलमा अलर्ट म्यासेज पठाउँदै सुरक्षा निकायका निर्देशन पालना गर्न तथा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आग्रह समेत गरेको छ ।
आइतबार बिहान स्थानीय समयअनुसार करिब ५:३६ बजे कतारका बासिन्दाको मोबाइल फोनमा आपतकालीन सुरक्षा सन्देश पठाइएको थियो । त्यसपछि अर्को सन्देशमार्फत तत्कालको सुरक्षा जोखिम हटेको जानकारी पनि दिइएको मन्त्रालयले जनाएको छ ।