काठमाण्डू, २३ असार– स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो । अधिकारीको पक्राउलाई लिएर स्थानीय स्वास्थ्यकर्मीहरूले तीव्र विरोध जनाएका छन् ।
उनीहरूले मन्त्रीको आलोचना गरेकै कारण बिना पक्राउ पुर्जी अधिकारीलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन् । अधिकारीले गत शनिबार फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीर रातो मसिले क्रस गर्दै ‘माफिया मन्त्री’ भनेर पोस्ट गरेका थिए ।
उनले अर्को स्टाटसमा लेखेका थिए, ‘निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरीब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ । अख्तियार के गर्दैछरु लाज बेचिसक्यौ भने स्वास्थ्य मन्त्री पदबाट राजीनामा देऊ ।’