काठमाण्डू, २३ असार– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ब्रिफिङ गर्ने कार्यसूची रहे पनि ‘संवेदनशील विषय’ भएको भन्दै सञ्चारकर्मीलाई रोक लगाइएको हो ।
बैठकमा परराष्ट्रमन्त्री खनालले आफ्ना हालैका छिमेकी मुलुकहरू भारत र चीन भ्रमणका साथै समसामयिक कूटनीतिक विषयहरूमा समितिका सदस्यहरूलाई जानकारी गराएका छन् ।
ती भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका विविध आयामबारे उनले समितिलाई अवगत गराएको बताइएको छ । गम्भीर तथा कूटनीतिक विषयमा खुला छलफल गर्नुपर्ने कारण देखाउँदै समितिले सञ्चारमाध्यमलाई रिपोर्टिङका लागि बैठक कक्षमा प्रवेश अनुमति नदिएको हो ।