काठमाण्डू, २३ असार– युटुबमा प्रधानमन्त्री बालेन (वालेन्द्र) शाहालगायतका नेताहरुलाई अपमानजनक र गाली गलौजयुक्त सामाग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ ।
जिल्ला अदालत पाँचथरले यस्तो आदेश दिएको हो । पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिएका छन ।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । युटुबमा गाली गरेको आरोपमा पक्राउ परेको सार्वजनिक भएपछि देशभर व्यापक विरोध भएको थियो । चर्को विरोध पछि प्रहरीले चैत २९ गते परिवारलाई जिम्मा लगाएको थियो । तर, जिल्ला अदालतमा मुद्धा दायर भएपछि न्यायाधीश कुमार मास्केको इजलासले पुर्पक्षका लागि कारगार पठाउने आदेश गरेको छ ।
आफ्न्तको जिम्मा लगाए पनि प्रहरी प्रतिवदेनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो । प्रधानमन्त्री शाहा तथा निजको परिवारलाई लक्षित गरी मान, सम्मान तथा प्रतिष्ठा समेतमा आँच आउने गरी अपमानजनक तथा अमर्यादित खालका शब्दहरु भिडियो तथा स्टेटस प्रेसित गरेको अभियोग पत्रमा उल्लेख छ ।