प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

काठमाण्डु टुडे २०८३ असार २३ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, २३ असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो ।

जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए ।

कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो ।

सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us