डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

काठमाण्डु टुडे २०८३ असार २१ गते १७:३१ मा प्रकाशित

काठमाण्डू, २१ असार– डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन ।

आज (आइतबार) दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८ डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए ।

दुर्घटनामा चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि उद्दार गरेर जुम्ला पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ समेत आइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए । घटनाबारे थप विवरणसँगै घाइतेहरूको पहिचान हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us