काठमाण्डू, २१ असार– प्रतिपक्ष दल नेपाली कांग्रेस प्रतिनिधिसभाबाट पारित भएको ‘प्रतिनिधिसभा नियमावलीमा राखिएका प्रावधान’को विरुद्धमा सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
प्रतिपक्षी दलहरूको विरोधका बीच संसद् नियमावलीमा रहेका प्रावधानलाई सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमतबाट पारित गरेको थियो । संविधान संशोधनको प्रावधान र सांसदहरूलाई फौजदारी बाहेक अन्य कानुन नलाग्ने व्यवस्था नियमावलीमा राखिएको भन्दै विपक्षी दलले आपत्ति व्यक्त गरेका थिए ।
केही समय सेलाएको उक्त मुद्दाको न्यायिक निरुपणका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस अदालत जाने भएको हो ।प्रतिनिधिसभा सञ्चालनका लागि बनेको नियमावलीविरुद्ध अदालत जान कांग्रेस सभापति गगन थापाले कानुनविद् र कानुन व्यवसायीसँग शुक्रबार छलफल गरेका छन् ।
छलफलमा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा सहभागी थिए ।
कांग्रेसका शीर्ष नेताहरूले वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, अधिवक्ता राजु कटुवाल लगायतसँग छलफल गरेका हुन् ।
शुक्रबारको छलफलपछि कांग्रेसले नियमावलीको विरुद्धमा अदालत जाने निर्णय गरेको थियो । शीर्ष नेता र कानुन व्यवसायीहरूको छलफलमा रिट लिएर अदालत जानेबारे तीन विकल्पमा छलफल भएको सहभागी अधिवक्ता कटुवालले जानकारी दिएका छन ।