काठमाण्डू, २१ असार– अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले जारी फिफा विश्वकपको खेल तालिकाप्रति असन्तुष्टि पोखेका छन । केप भर्डमाथि अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेपछि उनले टोलीलाई पर्याप्त आरामको समय नदिइएको भन्दै प्रतियोगिताको तालिकामाथि प्रश्न उठाएका हुन् ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अन्तिम १६ मा प्रवेश गरेसँगै अब मंगलबार इजिप्टसँग खेल्नेछ । तर केप भर्डविरुद्ध १२० मिनेटसम्म खेलेको टोलीले पुनः मैदानमा उत्रिन करिब साढे तीन दिन मात्रै पाएको छ ।
त्यसमाथि मियामीमा आएको आँधीका कारण शनिबार बिहानको प्रशिक्षणसमेत रद्द गर्नुपरेको थियो । खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्कालोनीले भने, ‘अब के गर्नेरु अब आराम गर्ने । विश्वकपको तालिका कसरी बनाइयो, मलाई थाहा छैन । सुरुमा हामीले छ दिनको विश्राम पायौँ, अहिले साढे तीन दिन मात्रै छ ।
सबैभन्दा बढी आराम आवश्यक पर्ने समयमा सबैभन्दा कम समय दिइएको छ । यो बुझ्न निकै कठिन कुरा हो । तालिका क्रमशः परिवर्तन हुँदै जानुपर्थ्यो, तर अब जे छ, त्यही हुनेछ ।’
केप भर्डविरुद्धको खेल अर्जेन्टिनाका लागि निकै चुनौतीपूर्ण रह्यो । अतिरिक्त समयसम्म पुगेको खेलमा ३–२ को जित निकाल्दै टोली अन्तिम १६ मा पुग्यो । प्रशिक्षकका रूपमा आफ्नो १०० औँ खेल पूरा गरेका स्कालोनीले यस्तो प्रदर्शनपछि हार्नु ‘पागलपन’ हुने प्रतिक्रिया दिएका थिए ।
टोलीका कप्तान लियोनल मेसीले पनि खेलको शारीरिक कठिनाइबारे बताएका छन् । उनले रमाइलो शैलीमा भने, ‘खेलभरि विपक्षीले मलाई धेरै अट्याक गर्छन्, तर खेल सकिएपछि भने जर्सी र सेल्फी माग्न आइपुग्छन् ।’ छोटो विश्रामका कारण स्कालोनीलाई टोलीका केही खेलाडीको फिटनेसले थप चिन्तित बनाएको छ ।