काठमाण्डू, २१ असार– अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले जारी फिफा विश्वकपको खेल तालिकाप्रति असन्तुष्टि पोखेका छन । केप भर्डमाथि अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेपछि उनले टोलीलाई पर्याप्त आरामको समय नदिइएको भन्दै प्रतियोगिताको तालिकामाथि प्रश्न उठाएका हुन् ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अन्तिम १६ मा प्रवेश गरेसँगै अब मंगलबार इजिप्टसँग खेल्नेछ । तर केप भर्डविरुद्ध १२० मिनेटसम्म खेलेको टोलीले पुनः मैदानमा उत्रिन करिब साढे तीन दिन मात्रै पाएको छ । त्यसमाथि मियामीमा आएको आँधीका कारण शनिबार बिहानको प्रशिक्षणसमेत रद्द गर्नुपरेको थियो ।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्कालोनीले भने, ‘अब के गर्नेरु अब आराम गर्ने। विश्वकपको तालिका कसरी बनाइयो, मलाई थाहा छैन । सुरुमा हामीले छ दिनको विश्राम पायौँ, अहिले साढे तीन दिन मात्रै छ । सबैभन्दा बढी आराम आवश्यक पर्ने समयमा सबैभन्दा कम समय दिइएको छ ।
यो बुझ्न निकै कठिन कुरा हो । तालिका क्रमशः परिवर्तन हुँदै जानुपर्थ्यो, तर अब जे छ, त्यही हुनेछ ।’ केप भर्डविरुद्धको खेल अर्जेन्टिनाका लागि निकै चुनौतीपूर्ण रह्यो। अतिरिक्त समयसम्म पुगेको खेलमा ३–२ को जित निकाल्दै टोली अन्तिम १६ मा पुग्यो ।
प्रशिक्षकका रूपमा आफ्नो १०० औँ खेल पूरा गरेका स्कालोनीले यस्तो प्रदर्शनपछि हार्नु ‘पागलपन’ हुने प्रतिक्रिया दिएका थिए। टोलीका कप्तान लियोनल मेसीले पनि खेलको शारीरिक कठिनाइबारे बताएका छन् ।
उनले रमाइलो शैलीमा भने, ‘खेलभरि विपक्षीले मलाई धेरै अट्याक गर्छन्, तर खेल सकिएपछि भने जर्सी र सेल्फी माग्न आइपुग्छन् ।’ छोटो विश्रामका कारण स्कालोनीलाई टोलीका केही खेलाडीको फिटनेसले थप चिन्तित बनाएको छ ।