जर्मनीलाई हराएको खुशियालीमा पाराग्वेमा सार्वजनिक बिदा घोषणा

काठमाण्डु टुडे २०८३ असार १६ गते १२:५० मा प्रकाशित

काठमाण्डू, १६ असार– विश्वकप फुटबलमा चार पटकको च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेपछि पाराग्वेले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

यस ऐतिहासिक जितको उत्सव मनाउन पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेका हुन । सोमबार राति भएको रोमाञ्चक खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको हो ।

निर्धारित र थप गरिएको समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । विश्वकप इतिहासकै ठूलो ‘उलटफेर’ मानिएको यस जितसँगै दक्षिण अमेरिकी राष्ट्र पाराग्वे प्रतियोगिताको अर्को चरणमा पुग्न सफल भएको छ ।

जितपछि सामाजिक सञ्जाल ‘एक्स’ मा बिदाको निर्णयमा हस्ताक्षर गरिरहेको तस्बिर सार्वजनिक गर्दै राष्ट्रपति पेनाले लेखेका छन्, ‘आज पूरा देशले उत्सव मनाइरहेको छ। यो जितले हाम्रो पहिचानको गहिरो हिस्सा–साहस, विश्वास र कहिल्यै हार नमान्ने पराग्वेली जनताको शक्तिको प्रतिनिधित्व गर्दछ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us