काठमाण्डू, १२ असार– पछि केहि दिन यता एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यगत एकताको प्रयास गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर नै उक्त प्रस्ताव राखेको ओली निकट स्रोतले जानकारी दिएको छ ।
दुई साताअघि प्रचण्डनिवास पुगेर ओलीले उक्त प्रस्ताव राखेका थिए । त्यसलाई दुवै नेताले पार्टीभित्र चर्चाको विषय भने बनाइसकेका छन् । एमालेभित्र ओलीको विकल्पको खोजी गर्दै नेताहरू पुनर्गठनको प्रयासमा सक्रिय छन् । अनि, नेकपाभित्र पनि त्यही रस्साकस्सी चलेको छ ।
त्यसले गर्दा दुई नेताहरू आफ्नो वर्चस्वको कसरतमा पनि रहेका छन् । ओली र प्रचण्ड तत्काल कार्यगत एकता गरेर सहकार्य बढाउने र चुनावअघि पार्टी एकता गर्ने मोडालिटीमा छलफल चलाइरहेको स्रोत बताउँछ । उनीहरूको छलफलले मूर्त रूप भने लिइसकेको छैन ।
तर, उनीहरू कार्यगत एकतामा सहमत भएको संकेतचाहिँ देखिन थालेका छन् । विराटनगर पुगेर प्रचण्डले आज एमालेसँग एकता र सहकार्यको सम्भावना रहेको बताएका छन् । यद्यपि, उनले जसपा नेपालसँग पनि सहकार्यका लागि छलफल भइरहेको बताएका छन् ।
तर, अहिले नै चाहिँ एमाले र नेकपाबीच सहकार्य हुने सम्भावना बढेको हो । विराटनगरमा प्रचण्डले उक्त कुरा बोल्नुभन्दा केही दिनअघि ओली र प्रचण्डबीच लामो छलफल चलेको थियो । ओली र प्रचण्ड धेरै समयपछि अर्को एक कार्यक्रममा एउटै मञ्चमा देखिन लागेका छन् । अझ त्यसमा माधव नेपाल र झलनाथ खनाल पनि सहभागी हुने भएका छन् ।
पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारी संरक्षक रहेको मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिन लागेका हुन् । मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजना हुन लागेको विचार गोष्ठीमा उनीहरू निम्तालु रहेका छन् । फाउन्डेसनले १४ असार विचार गोष्ठी आयोजना गर्दै छ ।
राष्ट्रियसभागृहमा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा ओली, प्रचण्ड, नेपाल र खनाल तथा उपेन्द्र यादवले बोल्नेछन् । गत वर्षको १४ असार भने एमाले अध्यक्ष ओली र विद्या भण्डारीको सम्बन्ध बिगार्ने कार्यक्रमको रूपमा रहेको थियो । त्यसै दिन भण्डारीले पार्टी राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी थिइन् ।
त्यही भनाइबाट बिच्किएका ओलीले साउनको केन्द्रीय समिति बैठकबाट सदस्यता नै रद्द गराइदिएका थिए । अहिले पनि भण्डारीसहित ओली र प्रचण्डको सम्बन्ध सुधार भएको छ ।
अनि, एमालेले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको छ । त्यसैले, १४ असारको कार्यक्रम सांकेतिक र सन्देशमुलक रहेको एमाले नेताहरूले बताएका छन् । ओली र प्रचण्ड पछिल्ला दिनमा भण्डारीलाई संयोजक बनाएर लैजान सकिने विषयमा पनि छलफल गरिरहेका छन् ।