कक्षा १२ को रिजल्ट हतारमा ननिकालिएको शिक्षामन्त्रीको भनाइ, भेरिफिकेसन गर्न समिति गठन

काठमाण्डु टुडे २०८३ असार ११ गते १७:०१ मा प्रकाशित

काठमाण्डू, ११ असार– शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जानकारी गराएका छन ।

समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी जिम्मेवारी तोकिएको पनि उनले जानकारी गराएका छन ।

राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणी र विद्यार्थीहरूमाथि गरिएका नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यसको जानकारी दिएका हुन् ।

बोर्डको नतिजा प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको भन्दै आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झट हटाई समयमै नतिजा सार्वजनिक गरिएको उनले प्रस्टोक्ति दिएका छन् ।

नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको र यो नियमित प्रक्रिया अनुसार नै भएको उनको भनाई छ । उनले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थी वा समूहप्रति सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा असम्मानजनक टिप्पणी नगर्न आग्रह समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us