रास्वपा महाधिवेशनको बेथिति हेर्दा हामीले देश चलाउन सक्दैनौंः रास्वपा सांसद रेग्मी

काठमाण्डु टुडे २०८३ असार ११ गते १६:३० मा प्रकाशित

काठमाण्डू, ११ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सांसदसमेत रहेका केन्द्रीय सदस्यका उम्मेदवार धनञ्जय रेग्मीले महाधिवेशनको बेथिति हेर्दा रास्वपाले देश चलाउन नसक्ने देखिएको दाबी गरेका छन ।

३ दिने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू चितवन आए पनि महाधिवेशन लम्बिएर ५ दिन पुगिसकेको उल्लेख गर्दै उनले पत्रकारहरूसँग भने, ‘यति बेथिति गरियो भने हामीले देश चलाउन सक्दैनौं है साथीहरू हो ।’

आफूले महाधिवेशन व्यवस्थापनका विषयमा यति बोलिसकेपछि चुनाव हार्ने पनि उनले बताएका छन । उनले भने, ‘मैले जुन हिसाबले हाम्रो पार्टी भनिराखेको थिएँ, जुन पदाधिकारी छन् तिनले अन्तर्राष्ट्रिय जगतमा रास्वपाको बेइजत गराएका छन्, मैले यत्ति नै भनेँ। यति भनेपछि म त सिद्धिएँ, मलाई मत दिँदैनन् म हारिहाल्छु ।’

रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा महाधिवेशन गर्ने भने पनि आज पनि महाधिवेशन जारी छ । महाधिवेशनमा प्रतिनिधिहरूलाई खाना खाजाको व्यवस्था गरिए पनि बास आफैले बस्नुपर्ने नियम छ ।

स्याङ्जा १ बाट चुनाव जितेका रेग्मीले महाधिवेशन प्रतिनिधिलाई बासलगायत व्यवस्थापनमा सांसदले मात्रै हेर्न नसक्ने पनि उल्लेख गरेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us