काठमाण्डू, ११ असार– मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका – ६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित प्रवक्ता मनोज यादवले जानकारी दिएका छन ।
उनका अनुसार आज दिउँसो उनलाई मधेश भवन भित्रैबाट सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो । उनी स्कारपियो चढेर फेरि मधेश भवन आज आएका थिए । बुधबार बिहान ११ बजे मन्त्री भट्टराई चढ्ने ज १ झ ४४१ नम्बरको गाडी मधेश भवनको मन्त्रालय अगाडि पार्किङमा राखिएको बेला राष्ट्रिय झन्डा तोडफोड गरेर फालिएको हो ।
स्कारपिओ चढेर आएका एक व्यक्ति मन्त्रीको गाडीमा चारैतिर हेरेर गाडीमा रहेको राष्ट्रिय झन्डा भाँचेर भुइँमा फालेको र कानमा फोन लगाउँदै मन्त्रालय परिसर भित्रसम्म गएका थिए । करिब ती व्यक्ति त्यहाँ ४–५ मिनेटसम्म रहेको सीसीटीभी फुटेजमा देखिएका थिए ।