काठमाण्डू, ११ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान सकाएको छ ।
चितवनको भरतपुरमा जारी महाधिवेशन अन्तर्गत निर्धारित समयभन्दा ढिलो गरी मतदान भएको थियो । आज बिहानबाट भएको मतदान केहीबेरअघि सकिएको हो ।
पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भएको हो । केन्द्रीय निर्वाचन आयोगका अनुसार, २९५९ जनाले पहिलो चरणको मतदानमा सहभागीता जनाएका छन् ।
आजै दोस्रो चरण अर्थात् पदाधिकारीका लागि पनि मतदान हुनेछ । नेता मनिष झाले बताए अनुसार, दिउँसो ४ बजेसम्ममा दोस्रो चरणको मतदान सुरु हुनेछ ।
एक जना प्रतिनिधिले पदाधिकारीका लागि करिब ४ देखि ५ मिनेट मतदानका लागि लगाउने उनले बताए । रास्वपाका अर्का नेता विपिन आचार्यका अनुसार, ६ पदाधिकारीका लागि निर्वाचन हुनेछ ।
खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो ।