काठमाण्डू, ११ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु हुने भएको छ ।
रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार, केहीबेर अघि पहिलो चरण अन्तर्गत केन्द्रीय सदस्यहरूको मतदान सकिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार, एउटा बुथबाट करिब ३१० मत खसेको छ । करिब ८० वटा बुथबाट ३१०० मत खसेको जानकारी आयोगबाट आएको उनले । ‘एउटा स्टेशनको आठ वटा सबस्टेशन गरेर ८० वटा बुथ बनाइएको थियो ।
औसतमा ३१० जति खसेको छ एउटा स्टेशनबाट । करिब ३१०० जति उहाँहरूले निकाल्नुभएको छ,’ झाले भने । जति उपस्थिति र उत्साह देखिएको छ त्यसलाई पार्टीले उत्साहजनक रुपमा लिएको पनि उनले जानकारी दिए ।
साथै, पदाधिकारीका लागि दोस्रो चरणको तयारी अघि बढाउन सभापति रवि लामिछानेले निर्देशन दिएको उनले बताए । दिउँसो ४ बजेसम्म दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए ।