कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

काठमाण्डु टुडे २०८३ असार ११ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, ११ असार– कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते भएका छन । कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन ।

विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर हुद्दा बिष्टको मृत्यु भएको डीएसपी तिमिल्सिनाले जानकारी दिए । सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले जानकारी दिए ।

जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाण्डू पठाइएको छ । बिहीबार बिहान ९ः १७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका मृतक बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us