काठमाण्डू, ११ असार– सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन ।
भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुुनः सञ्चालनमा आएका हुन ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्दै आश्वासन दिएपछि बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू पुनः सञ्चालनमा आएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिएका छन ।
उनले सरकारले माग सम्बोधन गर्न तदारुकता देखाएपछि उद्योगहरू सञ्चालन गर्ने निर्णय गरिएको बताए । ‘सरकारले एउटा विशेष कार्यदल गठन गर्यो, मन्त्रीस्तरमा कुरा हुँदा उहाँहरूले यसमा छिट्टै पहल गर्छौं भनेपछि हामीले उद्योग खोलेका हौं, उनले भने ।’
झापाका उद्योगहरू सञ्चालनमा आएसँगै पहाडी जिल्लाका चिया उद्योगहरू पनि खुल्ने क्रममा रहेको उपाध्यक्ष गुप्ताले जानकारी दिए ।