काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार असिम साहले पार्टीमा कुनै गुट नभएको बताएका छन ।
चितवनमा जारी महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता बालेन शाह बसेपछि गुटको चर्चा अन्त्य भएको बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।
सभापतिको प्रस्तावक स्वयम् प्रधानमन्त्री भएपछि यो गुट उपगुट यहीँ सकियो। गुट उपगुट भन्ने नै छैन।’ संविधान संशोधन कार्यदलको संयोजक समेत रहेका साहले भने, ‘ संविधान संशोधन राष्ट्रिय सहमति अनुसार हुन्छ । दलको आ–आफ्नो धारणा हुन्छ। बहस पत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ ।
सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौँ।’ प्रदेश खारेजीको प्रस्ताव आएपछि सङ्घीयता खारेज गर्ने बाटोमा जानुभयो हो ? भन्ने जिज्ञासामा उनले थपे, ‘बहस पत्र तयार गर्ने क्रममा हामीले सबैको कुरा सुन्छौँ । पूर्वराष्ट्रपतिदेखि, पूर्वप्रधानमन्त्री देखि सबैका कुराहरू सुनिरहेका छौँ । त्यसमा एउटा राष्ट्रिय सहमति हुन्छ, त्यसमा यही नै भन्ने छैन ।’