पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

काठमाण्डु टुडे २०८३ असार १० गते १६:०१ मा प्रकाशित

काठमाण्डू, १० असार– भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ ।

सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न तयारी गाँउपालिकाले गरेको हो ।

गाउँपालिकाको मङ्गलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेसनमार्फत आर्थिक वर्ष ०८३–८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिएका छन ।

उनले भने, ‘बाँदर किसानको जटिल समस्या बनेको छ, अध्यक्ष राईले भने, ‘बाँदर नियन्त्रणका लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको छौँ । सङ्घीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।’ गाउँपालिकाका अनुसार, बन्ध्याकरण विधिमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ ।

यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

बालीबिरुवामा बाँदरले अपूरणीय क्षति गर्न थालेपछि यहाँ बाँदरको सङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले बाँदरको बन्ध्याकरण गर्न लागिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us