काठमाण्डू, १० असार– जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई पदमुक्त गर्ने तयारी गरेको छ । अशोक राईको नयाँ पार्टीमा सनाखत गरेको भन्दै उनलाई सांसदबाट हटाउने तयारी थालिएको जसपा नेपालले जनाएको छ ।
लिम्बू जसपाकी समानुपातिक सांसद हुन् । उनी स्वास्थ्यमन्त्री समेत भएकी थिइन् । सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता दिएको फैसला सुनाएपछि पार्टीले लिम्बूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो । जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवले लिम्बूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने, ‘पार्टीले उहाँलाई विश्वास गरेर पठाएको थियो ।
पार्टी सङ्कटमा परेको बेला अर्को समूह रोजेकाले अब पदमा बसिरहनु नैतिक रूपमा उपयुक्त हुँदैन ।’ निर्मलाले भने आफू कुनै नयाँ पार्टीमा नगएको भन्दै बिना गल्ती कारबाही गरे कानुनी उपचार खोज्ने बताइन् । उनले भनिन्, ‘दल विभाजन हुँदा म कांग्रेस–एमालेमा गएको होइन । नेताहरूको लडाइँमा बिना गल्ती अन्याय गरिए म कानुनी उपचारका लागि जान्छु ।’
पार्टी एकता हुँदा आफू अशोक राई नेतृत्वको संघीय समाजवादीबाट आएको भन्दै उनले विभाजन हुँदा पनि अशोक राई नेतृत्वको दल नै रोजेको पनि बताएकी छन ।
उनले थपिन् ‘निर्वाचन कार्यालयले तारनतार सनाखत गर्न आउनु कि आउनु भनेर पत्र पठायो । बिना गल्ती अरूका कारण ममाथि अन्याय भयो भने कानुनी लडाइँ लड्नुको विकल्प भएन ।’