रास्वपाको ‘ऐतिहासिक महाधिवेशन’ अमरेश सिंहद्वारा अघोषित बहिष्कार

काठमाण्डु टुडे २०८३ असार ८ गते १५:२६ मा प्रकाशित

काठमाण्डू, ८ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा चर्चित नेता एवं रास्वपा सांसद अमरेशकुमार सिंह अनुपस्थित भएका छन ।

पछिल्लो समय सरकारको नेतृत्वसँग असन्तुष्ट सुनिएका नेता सिंहले रास्वपाको पहिलो महाधिवेशन अघोषित बहिष्कार गरेका हुन् । गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही–४ बाट कांग्रेसका सभापति गगन थापालाई चुनावमा भारी मतान्तरले हराएका सिंह महाधिवेशनमै नआउनु स्वाभाविक होइन ।

सोमबार सार्वजनिक भएको मधेशका महाधिवेशन प्रतिनिधिको सूचीमा पनि उनको नाम छैन । यद्यपि, रास्वपाका सांसदहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ । त्यसैले सिंहलाई महाधिवेशनमा भाग लिन प्राविधिक समस्या थिएन ।

महाधिवेशनस्थलमा रहेका अमेरेशनिकट नेता कार्यकर्तासँग सोधखोज गर्दा हिजो र आज पनि नदेखिएको बताएका छन् । अमरेशले बालेन र रविलाई एकसाथ जनकपुरको बाह्रबिघा मैदानमा उतारेर पार्टी प्रवेश गरेका थिए ।

उनले बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने समेत घोषणा गरेका थिए । तर, पछिल्लो समय उनी रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता साहसँग असन्तुष्ट रहेको बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us