विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँः भीष्मराज आङ्देम्बे

काठमाण्डु टुडे २०८३ असार ८ गते १६:४८ मा प्रकाशित

काठमाण्डू, ८ असार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन ।

उनले प्रतिपक्षको भूमिका विरोधका लागि विरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गर्न सचेत गराउने समेत बताएका छन ।

आज (सोमबार) इलाम नगरपालिकाको नगरसभामा बोल्दै नेता आङ्देम्बेले संसदभित्र प्रतिपक्षीले उठाएका विषयहरू जनताकै आवाज भएको पनि दाबी गरे। किसानहरू विभिन्न समस्याबाट पीडित भइरहेका बेला राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको पनि उनले बताए ।

उनले भने, ‘देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्‍याइरहेको छ । त्यसप्रति अहिले पनि राष्ट्र संवेदनशील भइरहेको छैन भन्ने अनुभूति हामीले गरिरहेका छौँ ।’ उनले सरकार ठूलो जनमतबाट निर्वाचित भएर गठन भए पनि त्यसलाई जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षको भएको पनि उनले बताएका छन ।

उनले भने, ‘संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो । सरकारलाई जनताप्रति गरिएको प्रतिबद्धतामा अझ खरो रूपमा उत्रिन सचेत गर्ने काम प्रतिपक्षीको हो र त्यो काम हामीले निरन्तर गरिरहेका छौँ ।’

आङ्देम्बेले देशभरका नागरिकमा सरकारप्रति बढ्दो असन्तुष्टि देखिएको पनि बताए। मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको निष्कर्षमा समेत धेरै नागरिक पुग्न थालेको उनको भनाइ थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us